जिन्दगीको यो कलमी दैाडाइमा हजुरहरू समक्ष साहित्यीक खुराक पस्किन यो वल्ग निर्माण गरेको हुँ । मैले लेख्ने वा सिर्जना गर्ने कथा, लघुकथा, गजल, गित, मुक्तक, हाइकू, केस्रा लगायत विभिन्न लेखहरू यहाँ राख्नेछु हजुरहरूले त्यी लेख रचनालाइ पढेर मेरो परिचय लिन विनम्र अनुरोध गर्दछु ।

Tuesday, May 10, 2016

कबिता-याैटा खस्राे चित्र


"एउटा खस्रो चित्र "
by-jeevan khatri

कलालाई कलाको रुपमा नबुझ्ने
एउटा साथी छ मेरो
उसलै पठाइदिएछ मेरो ठेगानामा
एउटा विचित्रको खस्रो चित्र

ठीक यतिबेला, म यही चित्रलाई नियाली रहेछु।
हुनसक्छ,
यो चित्र त्यो भिन्चीले बनाएको हो,
जसले मोनालिसाको नरम तस्बिर छाम्दा छाम्दा
वाक्क भएर यो खस्रो चित्र बनाउन रहर गर्यो।
वा हुनसक्छ,
दुःखको अन्तिम इनारमा डुबेर कुनै कविले लेखेको
सवसे दु:खद कविताको दु:खि पात्रको तस्बिर हो यो।

जे पनि हुन सक्छ।
एउटा मानव आकृति जस्तो यो चित्र
खुब नियालिरहेछु,
पातहरूले छाडी गएका नाङ्गो रूखजस्तो छ टाउको
जहाँ दु:खको सिङ्गै पहाड, टोपी बनेर उभिएको छ।
दर्जनौँ सन्धी सम्झौताहरूले सिमाना खुम्चिएको
कुनै विपन्न देशजस्तो छ निधार
जहाँ अभावका किरङ मिरङ धर्साहरू टाँस्सिएका छन्।
पाखोबारीझैँ पाटै पाटा परेका छन् दुई गाला
जहाँ पीरका योद्धाहरूले परेड खेलिरहेछन्।
लाग्छ, उसका कानहरूलाई
भोकको सारङ्गी बाहेक अरु धुन थाहै छैन्
उसको नाकले अभाव बाहेक अरु सुगन्ध जान्दैन्
आँखाले केवल भयका साँघुरा खोल्सा खाल्सी देख्छन्
मुखले पनि निरिहताको भजन सिवाय केही बोल्दैन्।

गहिरिएर हेर्छु, झन् डर लाग्छ!
कुन बैगुनी कलाकारले, कुन कुरुप भाँडोमा भेट्यो
यति विघ्न अभावका रङहरू?
यति विघ्न अध्याँरो मसी
यति विघ्न व्यथा, उल्झन सुहाउँने क्यानभास
यति विघ्न कहाली चोपिन सक्ने कुची

आँखा भरि भरि हेर्छु
चित्रको पछिल्तिरको पुरानो घर
सायद यही मानव आकृतिको होला।
तर, घरको लालपुर्जा घरमै होला कि? कुनै महलमा?
चित्रको दाहिनेतिरको सानो केटो उसैको छोरो होला।
तर उ स्कुल नगएर, किन क्यानभासमा?
हुन सक्छ परिक्षा शुल्क विलम्बका कारण
स्कुलले आजै फिर्ता गरिदिएको होस्।

उसकी श्रीमती? छैन त चित्रमा
कतै एक्लै छोडेर उसलाई, मुग्लान त झरिन?
कि कुनै महलको भित्री कोठामा कैद भई?
जे पनि हुन सक्छ।
अहो, खासमा कुन मुर्खले कोर्यो यो असुहाँउँदो चित्र
भेट्न पाए सोध्न हुन्थ्यो
के, दुःखका अनगिन्ती सागर, एउटै खोलामा अटाउँन सक्छ?
के अभावमा अनेकौँ घान, एउटै जाँतोले पिधीँ भ्याउँछ?
कि एउटा भोकले मात्र निल्नुपर्छ अभावका गाँसहरू?
कि एकजोडी हातहरूले मात्र सम्याउन सक्छन्,
तारे भीरैभीरको जिन्दगी?
कि एकजोडी पैताललाले मात्रै हिडीँ भ्याउँछन्,
तरबारको धार ओच्छ्याईएका बाटाहरू?
यिनै प्रश्नहरूका बीचमा अल्झिरहेका बेला
छोराको एउटै कुराले झस्याङ बनायो।
भन्यो, "बाबा, ऐना हेरेर किन एक्लै बर्बराउनु भको? "

0 comments:

Post a Comment